काठमाडौं, २५ माघ । सिन्धुलीमा शुक्रवार बिहान गाडी दुर्घटना हुँदा ज्यान गुमाउने र घाइते हुने सबैको परिचय खुलेका छन् ।
झापाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ९६४२ नम्बरको गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिका–५ स्थित बीपी राजमार्गमा आज बिहान पौने पाँचबजे दुर्घटनामा भएको हो । दुर्घटनामा एक युवकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएको हो ।
गाडी सडकबाट झण्डै चारसय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्सपेक्टर सुनिल चौरसियाले जानकारी गराएको हो । ईभी गाडी दुर्घटना हुँदा दोलखाको गौरीशंकर घर भएका २८ वर्षीय सुशान्त नेपालीको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते हुनेहरुमा इलामको देउमाई– ८ का ५३ वर्षीय सनबाहादुर तामाङ, मोरङको लेटाङ– २ की ३४ वर्षीया देवी लिम्बू, काठमाडौँको कागेश्वरी मनोहरा– ५ की २८ वर्षीया श्वेता गिरी, सोही ठाउँमा २८ वर्षीय सञ्जय रोका र झापाको बारादशी– १ का २७ वर्षीय तिस्कु मण्डल रहेका छन् ।
घाइतेमध्ये मोरङ लेटाङकी देवी लिम्बूको अवस्था गम्भीर रहेको इन्सपेक्टर चारसियाले जानकारी गराएको हो । दुर्घटनामा परेको गाडीमा चालक को थिए खुलेको छैन । घाइते सबैको अहिले जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ। ‘गम्भीर घाइतेलाई उपचारको लागि काठमाडौँ पठाउने तयारी हुँदैछ,’ इन्सपेक्टर चौरसियाले भने ।
गाडी आफैँ अनियन्त्रित भई दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ । थप जानकारीका लागि अनुसधान भईको जनाएको छ ।














