काठमाडौं, २३ माघ । गृह मन्त्रालयले सशस्त्र प्रहरीमा रिक्त तीन नायब महानिरीक्षक (डीआईजी) मा बढुवाको तयारी गरेका छन् ।
एकसाथ तीन जनालाई बढुवा गर्न पाँच महिनादेखि रोकेर राखिएको थियो । मंगलबारदेखि डीआईजी किशोर प्रधान अवकास भएसँगै बढुवा गर्न लागिएको हो । गत भदौ १६ गतेदेखि नै अरु दुई जनाको दरबन्दी रिक्त भए पनि बढुवा नगरी रोकेर राखिएको थियो । डीआईजी किशोर प्रधान गतवर्ष नै चार वर्षे पदावधि पूरा भए पनि एक वर्ष थप गरिएको थियो । एक वर्षे पदावधि थपिएपछि पनि सेवामै रहन उनले एआईजीको दरबन्दी थपका लागि पहल गरेको थिए ।
तर दरबन्दी थप नभएपछि एआईजीमा बढुवा हुन सकेनन् र अनिवार्य अवकास हुन प¥यो । प्रधान ९ नं पशुपतिनाथ बाहिनीका बाहिनीपति थिए । यसअघि डीआईजी अभिकुमार खत्री र दुर्गाप्रसाद भट्टराई ३० वर्षे सेवा अवधिका कारण भदौमै अनिवार्य अवकाशमा गएका थिए । रिक्त तीन पदमा सशस्त्र प्रहरीमा भर्ना भएको पहिलो ब्याचबाट दुईजना र दोस्रो ब्याचबाट एकजनालाई बढुवा गर्ने तयारी छ। प्रतिस्पर्धामा भने अरु एसएसपी पनि देखिएको हो ।
नेपाल प्रहरीको प्राविधिकबाट आएका कृष्णराज पाठक सबैभन्दा सिनियर एसएसपी हो । तर उनलाई यसपटक पनि बढुवा गर्ने सम्भावना कम छ । यसअघि पनि बढुवामा छुट्दै आएका पाठक सशस्त्र प्रहरीको पहिलो ब्याच (सिसं १) भन्दा अगाडिका एसएसपी हुन्। कमान्ड क्षमतामा कमजोर रहेको भन्दै उनलाई यसअघि बढुवा गरिएको थिएन । सिसं १ का मनिष थापा र कृष्ण ढकाल डीआईजीमा बढुवा हुने बलियो सम्भावना हो ।
उनीहरूकै ब्याची पाँचजना डीआईजीमा बढुवा भइसकेका छन् । डीआईजी सुरेश श्रेष्ठ, अन्जनी पोख्रेल, दिपेन्द्र शाह, पुरुषोत्तम थापा र दिपक अधिकारी उनीहरूकै ब्याची हुन् । एसएसपी थापा र ढकालले पनि स्टाफ कलेज गरिसकेका छन । सशस्त्रमै भर्ना भएको टोलीका लागि डीआईजी बन्न स्टाफ कलेज अनिवार्य छ । यसअघि तीनपटकमा स्टाफ कलेज पास गरिसकेको हुनु पर्ने व्यवस्था थियो । तर एसएसपी ढकालले तीनपटकमा पनि स्टाफ कलेज पास नगरेपछि उनकै लागि व्यवस्था नै परिवर्तन गरेर ५ पटकसम्म स्टाफ कलेज दिन पाउने व्यवस्था मिलाइएको थियो।
त्यसपछि मात्रै ढकाल पास भएको थियो । अहिले उनीहरू दुईजनाको डीआईजी बन्ने सम्भावना बलियो छ । सिसं १ पछि एसएसपी प्रवीण कँडेल पनि डीआईजीका दाबेदार हुन्। नेपाल प्रहरीबाट आएका कँडेल पनि यसपटक डीआईजीमा बढुवा हुने सम्भावना भने कम छ । सिसं २ कै विष्णु भट्ट, दिग्विजय सुवेदीलगायत पनि डीआईजीका प्रतिस्पर्धी हुन्। तर मनिष थापा, कृष्ण ढकाल र दिपेन्द्र कुँवर बढुवा हुँदा अरु छुट्नेछन् ।