धनुषा, २० माघ । मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ मा रहेको श्री आदर्श स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा ४३ विपन्न परिवारलाई ब्लाङ्केट वितरण गरिएको छ ।
आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आयोजित सो कार्यक्रममा स्थानीय गरिब तथा विपन्न परिवारलाई न्यानो ब्लाङ्केट प्रदान गरिएको हो ।
जाडोमा न्यानो कपडाको अभावले समस्यामा परेका परिवारलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सहकारी संस्थाका अध्यक्ष श्रीनारायण यादवले बताए ।
ब्लाङ्केट पाएपछि लाभान्वित परिवारले राहत महसुस गरेको बताएका छन् । स्थानीय बासिन्दाका अनुसार जाडोमा गरिब तथा निम्न आय भएका परिवारलाई न्यानो कपडाको व्यवस्था गर्न कठिन भइरहेको छ ।
कार्यक्रममा आरएसडिसी लघुवित्तका प्रतिनिधि, सहकारी संस्थाका पदाधिकारी तथा स्थानीय अगुवा सहभागी थिए। समुदायले यस्ता सहयोगी कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् ।