जनकपुर, २० माघ । जनकपुर र पिडारीचोकको बिचमा रहेको कवाडमा एक व्यवसायीमाथि निर्मम कुटपिट भएको छ ।
बरहथवा नगरपालिका ८ का ३७ वर्षीय व्यवसायी मुकेश प्रसाद यादवमाथि फलामका रड प्रहार गरी सामूहिक आक्रमण भएको हो । आक्रमणबाट गम्भीर घाइते भएका उनको जनकपुरमा उपचार सम्भव हुन नसकेपछि थप उपचारका लागि ललितपुरको बी एण्ड बी अस्पताल रिफर गरिएको छ ।
शनिबार दिउँसो यादवमाथि जनकपुर उपमहानगरपालिका १३ पीडारीका ४८ वर्षीय फेकु साह, १९ वर्षीय अमित साह, २४ वर्षीय तुल्सी साह, १९ वर्षीय सुभाष साह र भारत बिहारको सितामढी विष्णुपुर ३ बस्ने १७ वर्षीय विकास कुमार साह लगायतले आक्रमण गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले बताए ।
घटनामा फेकु साहका तीन छोरामा पनि संलग्न रहेको प्रहरीले जनाएको छ । घटना पश्चात फेकुसहित पाँचजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको डिएसपी सिंहले बताए ।
अहिले यादवमाथि कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । करिब पाँच मिनेटसम्म उनलाई फलामका रडलगायतले आक्रमण गरिरहेको भिडियोमा देखिएको छ ।
कवाड संकलन सम्बन्धी टेण्डर फेकु र मुकेशले संयुक्त रुपमा लिएका थिए । सोही विषयमा छलफलका लागि मुकेश सर्लाहीको बरहथवा नगरपालिका १३ का वडाध्यक्ष जागिर दर्जीलाई सँगै लिएर आएका बेला उनीहरुबीच विवाद भएको थियो ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार मुकेशलाई फेकु र उनका छोराहरुले गालीगलौज पनि गरेका थिए । मुकेशमाथि भएको आक्रमण पनि सोही विषयसँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ ।