विराटनगर, १८ माघ । मोरङको विराटनगरमा गाडिएको अवस्थामा बालिकाको शव भेटिएको घटनामा संलग्न रहेको आशंकामा मावल घरका ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मावल घरतर्फका हजुर बुबा ५५ वर्षीय सर्जुक मण्डल, ३५ वर्षीय रामबाबु मण्डल, ४० वर्षीया उर्मिला मण्डल, ४५ वर्षीया जानकी मण्डल, १७ वर्षीया अञ्जली मण्डल र ६० वर्षीया बतासी मण्डल छन् ।
घटना शंकास्पद देखिएपछि विराटनगर–५ घर भएका उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको मोरङका डीएसपी वेदप्रकाश जोशीले बताए ।
डीएसपी जोशीले भने भारत बिहारको छाप्रा जिल्ला घर भएकी चाँदनी एक महिना अघि आफ्नै आमा राजकुमारी र बुबा लालमोहन यादवसँगै मावलाघर विराटनगर आएकी थिइन् ।
चाँदनीलाई मावल घरमा छाडेर उनका आमा राजकुमारी र बुबालालमोहन भारत फर्केका थिए । ५÷६ दिन यता चाँदनी गाउँमा नदेखेपछि स्थानीयले सोधखोज गरेका थिए ।
तर, सर्जुकले नातिनी आफ्नो घर भारत फर्किसकेको जवाफ दिएका थिए । यो विषयमा शंका लागेपछि स्थानीयले शुक्रबार प्रहरीलाई खबर गरेका थिए । सोही आधारमा प्रहरीले बालिका चाँदनीको खोजतलास गरेका थिए ।
खोजी गर्ने क्रममा मावल घरभन्दा करिब ३८ मिटर दक्षिणमा रहेको खेतमा चाँदनीको शव गाडिएको अवस्थामा फेला परेको डीएसपी जोशीले बताए ।