बुटवल, १८ माघ । लागु औषध नियन्त्रणमा लिने क्रममा अवरोध भएको भन्दै प्रहरीले गोली चलाउँदा पश्चिम नवलपरासीमा एक जना घाइते भएका छन् ।
नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १२ पचगाँवा बस्ने ५२ वर्षीय राजेश लोनिया प्रहरीको गोली लागेर घाइते भएका हुन् । लोनियाको घरमा लागु औषध बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट विहीबार बेलुकी आठ बजेतिर एक टोली खटिएको थियो ।
उनलाई नियन्त्रणमा लिन खोज्दा अचानक प्रहरी माथि समेत आक्रमण गर्न आएपछि गोली चलाउनु परेको प्रहरीले बताए । लोनियाले प्रहरीको साथमा रहेको पेस्तोल समेत खोस्न लागेकाले र लागू औषध कारोबारमा संलग्न व्यक्ति भाग्न खोजेकाले ४ राउण्ड गोली प्रहार गर्दा एक राउण्ड राजेश लोनियाको बायाँ साप्रामा लागेको प्रहरी प्रवक्ता रेशम बोहराले बताए ।
लोनियालाई प्रहरीकै गाडीमा राखेर उपचारका लागि जिल्ला अस्पताल परासीमा पठाइएको छ । लोनियाको अवस्था मध्यम छ । लागु औषध किनबेचमा संलग्न अर्का १ जना व्यक्ति फरार रहेको प्रहरीले भने ।
सो स्थानबाट ९३ पुरिया ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ बरामद भएको प्रहरी नायव उपरीक्षक बोहराले बताए ।