जनकपुर, १७ माघ । दलित महिला संघ धनुषाको आयोजनामा “सिमान्कृत महिलाको विकास र सामाजिक न्यायको लागि शासन सुदृढीकरण” नामक परियोजना आरम्भ गोष्ठी सम्पन्न भएको छ ।
यो परियोजना विशेष रूपमा धनुषाका जनकपुर उपमहानगरपालिका र औरही गाउँपालिकालाई लक्षित गर्दै ल्याइएको हो । प्रमुख अतिथिको रूपमा औरही गाउँपालिकाका अध्यक्ष उमा प्रसाद साह उपस्थित थिए ।
प्रमुख अतिथि साहले कार्यक्रममा बोल्दै भने, “हाम्रो पालिकामा कानुनअनुसार कसैले नागरिकता प्राप्त नगरेको भए, हामीले पहल गरेर नागरिकता दिने काम गरेका छौं । यसैगरी, गरिब र दलित समुदायको पक्षमा हामी सधैं प्रतिबद्ध छौं ।
परियोजनाका कार्यरत सिजेन्द्र सादाले परियोजना बारेमा उपस्थितहरुलाई जानकारी गराउँदै भने, “यस परियोजनाले सिमान्कृत महिलाका लागि विभिन्न तालिम र कार्यक्रमहरू ल्याउनेछ ।
यस अन्तर्गत, निर्वाचनको समयमा गाउँ–गाउँमा पुगेर मतदान प्रक्रियाबारे जानकारी दिने, राजनीतिमा न्याय सम्बन्धी तालिम दिने, साथै, व्यवसायिक विकास र वित्तीय साक्षरता सम्बन्धी तालिम पनि आयोजना गरिनेछ ।
गोष्ठीको अध्यक्षता दलित महिला संघ धनुषा की सरस्वती मंडलले गरिन् । कार्यक्रममा महिला संघका पूर्व अध्यक्ष किरण दास र औरही गाउँपालिकाका विभिन्न वाडाका वडाध्यक्षहरूको पनि उपस्थिति थियो ।