काठमाडौँ, १७ माघ । गएराति ओखलढुंगाको हर्कपुरमा टाटासुमो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
ओखलढुंगाको सिद्धिचरण राजमार्गमा पर्ने मानेभन्जयाङ ७ भँडारेखोला भन्ने ठाउँमा ना १ ज ६४२१ टाटासुमो दुर्घटना हुँदा आमाछोरासहित तीन जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका पहरी निरीक्षक सन्जु कार्कीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा खोटाङको केपीलासगढी गाउँपालिका–३ की ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र ४५ वर्षीया तारा गुरुङ रहेका छन् ।
टाटासुमो सुनसरीको इनरुवा नगरपालिका– २ का २२ वर्षीय अनिल पण्डितले चलाएका थिए । दुर्घटनापछि उनी फरार रहेका कार्कीले जानकारी दिए । कार्कीका अनुसार घरमै आगोले पोलेपछि तारा गुरुङ उपचारको लागि खोटाङ जिल्ला अस्पताल पुगेकी थिइन् ।
जिल्ला अस्पतालका चिकित्सकले थप उपचारको लागि उनलाई काठमाडौँ लैजान भनेपछि उनीहरु राति नै टाटोसुमो रिजर्भ गरेर काठमाडौँ आउँदै गर्दा दुर्घटना भएको हो । गाडी सडकबाट झण्डै एकसय मिटर तल खसेको छ भने दुर्घटना राति कतिबजे भयो, खुलिनसकेको प्रहरीले जनाएको छ ।