काठमाडौं, १६ माघ । डिल्लीबजार कारागारबाट १४ वर्षअघि भागेका कैदी पक्राउ परेका छन् ।
ओखलढुंगाको लिखु गाउँपालिका– २, कुवापानी घर भई हाल काठमाडौँको गोंगबु बस्दै आएका ४५ वर्षीय पेसलराज बुढाथोकी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले उनलाई बुधबार गोंगबुबाट नियन्त्रणमा लिएको छ । परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार उनी ०६७ साउन २९ मा डिल्लीबजार कारागारबाट भागेका थिए ।
काठमाडौँ जिल्ला अदालतले २०६६ फागुन २५ गते वैदेशिक रोजगार ठगी मुद्दामा उनलाई दोषी ठहर गरी ३ वर्ष कैद र ३ लाख रूपैयाँ जरिवाना तोकेको थियो ।
त्यसै फैसलाअनुसार कारागार चलान भएका उनी त्यसको ५ महिनामै भागेका थिए। कारागारमा उनी नाइके थिए । प्रहरीका अनुसार, नाइकेको सुविधा दुरुपयोग गरी उनी भागेका थिए ।