काठमाडौँ, १६ माघ । सरकारले ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न’ विधेयक दर्ता गराएको छ ।
मंगलबार गृहमन्त्री रमेश लेखकले विधेयक दर्ता गराएका हुन् । दर्ता भएको विधेयकको मस्यौदामा बाबुको पहिचान नखुलेको कुनै व्यक्तिले स्वः घोषणा गरे वंशजको नागरिकता पाउने प्रस्ताव गरिएको छ ।
कुनै व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्रमा बाबुको नाम उल्लेख भए तापनि निजको बाबुको अन्य पहिचान नखुलेको र हाल सम्पर्कमा नरहेको भनी निजले स्वघोषणा गरेमा त्यस्तो व्यक्तिको बाबुको पहिचान नभएको मानिनेछ र निजले उपदफा (५) बमोजिम वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ भने वधेयक मस्यौदामा लेखिएको छ ।
यसका लागि कुनै व्यक्तिले विदेशको नागरिकता वा राहदानी नलिएको हुनुपर्ने मात्र होइन बाबुको पहिचान नभएको पनि स्वघोषणा अनिवार्य गर्नुपर्ने उल्लेख छ ।