लहान, १२ माघ । खुटी नहर संरक्षणका लागि लहान नगरपालिकाविरुद्ध आन्दोलन गर्दै आएको खुटी खोला सिंचाइ संघर्ष समितिले शनिवार लहानमा विशाल जनप्रदर्शन गरेको छ ।
ऐतिहासिक खुटी नहरको अस्तित्व मासेर नगरपालिकाले ढल बनाउन थालेपछि किसानहरुले लहान नगरपालिकाविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।
लहान नगरपालिकाका मेयर र सिंचाइ डिभिजन कार्यालय सिरहा प्रमुखविरुद्ध पुतलासहित किसानहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनपछि उनीहरुले खुटी नहरमा किसान संघर्ष समितिको झन्डा गाडेका छन् । नहर आफूहरुले कब्जा गरेको किसानहरुले घोषणा गरेका छन् ।
चार महिनादेखि आन्दोलन गरे पनि आफूहरुको आन्दोलनलाई बेवास्ता गरेको भन्दै किसानहरुले मेयर चौधरीको पुतलालाई पटक पटक पिटेर आक्रोश पोखेका थिए । पशुपति आदर्श उच्च माध्यमिक विद्यालय लहानको प्रांगणबाट शुरु भएको जनप्रदर्शन घन्टाघर, खुटी नहर हुँदै बजार परिक्रमापछि शहीद चौकमा कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै केही माडवारी समुदायका व्यापारीको कमिसनमा परेर किसानहरुलाई मेयर चौधरीले लात हानेको आन्दोलनका अगुवा हेमन्त यादवले आरोप लगाए ।
आफूहरुले मात्र पानीका लागि आन्दोलन गरेकाले सबैलाई साथ दिन संघर्ष समितिका अध्यक्ष धर्मराज चौधरीले आग्रह गरे । खेतमा पानी जाने नहरलाई मेयर चौधरीले कमिसनको लोभमा ढल बनाएको किसानहरुको आरोप छ ।
नहर सञ्चालन हुँदा लहान नगरपालिका वडा नम्बर १, २, ३, ११, १२, १९, २०, २१, २२ र २३ सहित सखुवा नन्कारकट्टी, भगवानपुर गाँउपालिकादेखि बोर्डरसम्मका किसानहरुको खेतमा सिंचाइ सुविधा पुग्थ्यो ।
नहर सञ्चालनका लागि खुटी नहरको मुहानमा दुई वर्षअघि प्रदेश सरकारको १० करोड लगानीमा हेडबक्स निर्माण भइसकेको छ ।