काठमाडौं, ११ माघ । पछिल्ला सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। बाजुरा, धनुषा, रोल्पा, सर्लाही, रुपन्देही र महोत्तरीमा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको छ ।
बाजुरा, बुढीगंगा नगरपालिका–८ बेतालमाडौंस्थित सडकमा बेतालमाडौंबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र.०२–००१ ख १०२० नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने कुल बहादुर लुहारको छोरा ४ वर्षीय निसु लुहारको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा, क्षिरेश्वरनाथ नगरपालिका–३ स्थित सडकमा ज.१ त ४१०१ नम्बरको ट्याक्टर बिहीबार दिउँसो दुर्घटना हुँदा चालक महोत्तरी भँगाहा नगरपालिका–९ बस्ने २८ वर्षीय जय किशोर सरदारको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरका सहचालकको के.सि. अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको हो ।
रोल्पा, गंगादेव गाउँपालिका–१ बिवाङस्थित सडकमा तुल्सीपुरबाट चैतेकाफल मेलटारीतर्फ जाँदै गरेको ग.१ ज ५७४२ नम्बरको डबल क्याब गाडी अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार सोही ठाउँ बस्ने १४ वर्षीय उमेश घर्तीको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
साथै दुर्घटनामा घाइते भएका ८ जना मध्ये १ जनाको स्मृति हस्पिटल घर्तीगाउँमा उपचार भइरहेको छ भने ६ जनालाई थप उपचारको लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र १ जनालाई रेउका अस्पताल रोल्पा पठाइएको छ ।
गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सर्लाही, बलरा नगरपालिका–२ हथियौलस्थित सडकमा बिआर ०६ पि २६६२ नम्बरको चार चक्के रथको ठक्करबाट सोही ठाउँ बस्ने बिसुन रायकी छोरी ३ वर्षीया सोहानी कुमारी रायको बिहीबार साँझ मृत्यु भएको छ ।