कञ्चनपुर, १० माघ । कञ्चनपुरबाट प्रहरीले पेस्तोलसहित चारजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको उधमसिंह नगर जिल्ला खटिमाका ३४ वर्षीय जीवन सिंह जिमेवाल, ३१ वर्षीय कोमल बिष्ट, ३४ वर्षीय उमेद सिँह अधिकारी र २८ वर्षीय सञ्जय जेठी रहेका छन् ।
बुधबार राति १० बजेतिर भीमदत्त नगरपालिका–६ ऐठपुरबाट उनीहरुलाई पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उनीहरुले पेस्तोल बोकेको गोप्य सूचनापछि गएको प्रहरी टोलीले महेन्द्रनगरबाट गड्डाचौकीतर्फ गइरहेको भारतीय नागरिक जिमेवालले चलाएको यूके ०६ एआर ०८४६ नम्बरको कारबाट पेस्तोल बरामद गरेको थियो ।
चालक सिटको पछाडी खल्तीमा लुकाएको अवस्थामा एक थान पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ । कार चालक जिमेवाल र सवार अन्य तीनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।