जनकपुर, ९ माघ । धनुषामा सडकमा हुने दुर्घटनामा कमी आएको छ । आर्थिक वर्ष २०८०÷०८१ को अर्धवार्षिक तुलनामा सडक दुर्घटनामा कमी आएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका तथ्यांक अनुसार धनुषा जिल्लाभर चालु आर्थिक वर्ष २०८१÷०८२ को पुस मसान्तसम्म (६ महिना) ५०६ दुर्घटना भएको छ ।
जसमा २६ जनाको मृत्यु भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ मा यो अवधिमा ५९८ सडक दुर्घटना भएको थियो । जसमा ३९ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
विगत आर्थिक वर्षमा तुलनामा यो चालु आर्थिक वर्षमा ९२ सवारी दुर्घटना कम र १३ जना कम मानवीय क्षति भएको देखिन्छ ।
ट्राफिक सचेतनाका लागि विभिन्न अभियानहरु जारी राखेकाले दुर्घटना न्यूनीकरण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरिबहादुर वलीले बताएका छन ।