जनकपुर, ७ माघ । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह सवार गाडी सोमबार बेलुकी दुर्घटनामा परेको छ ।
दुर्घटना जनकपुरको रामानन्द चोकमा मन्त्री सिंह चढेको मधेश प्रदेश ०२–००१ झ ०१६५ नम्बरको गाडीलाई खानेपानी डिभिजन कार्यालय पर्साको मधेश प्रदेश ०३–००१ झ ००९६ नम्बरको गाडीले ठक्कर दिएको छ ।
दुर्घटनामा मन्त्रीसिंहसहित तीनजना घाइते भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले जानकारी दिए । पिरारी चोकबाट रामानन्द चोकस्थित निवासतर्फ जाँदै गरेको मन्त्रीको गाडीलाई सोही दिशामा गइरहेको खानेपानी कार्यालयको गाडीले ठक्कर दिएको हो ।
मन्त्रीसहित घाइते हुनेमा दुवै गाडीका चालक समेत छन् । उनीहरुको उपचार जनकपुरस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।














