काठमाडौँ, ७ माघ । खाना पकाउन प्रयोग गरिने एलपी ग्यास केहि दिन देखि बजारमा नेपाल ग्यासको अभाव देखिएको छ ।
लामो समयदेखि उक्त कम्पनीको ग्यास अभाव भएको गुनासो उपभोक्ताको छ । नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले ग्यास अभावको गुनासो निगममा नआएको बताए । तर जाडो सिजनमा खपत बढ्ने भएकाले मागअनुसार ढुवानी नहुँदा अभाव भएको हुनसक्ने बताए ।
कहीँकतै ढुवानीको समस्याका कारण अभाव भएको होला,’ प्रवक्ता ठाकुरले भने, ‘जाडो सिजनमा अरु बेलाको तुलनामा ग्यास खपत बढ्छ ।’ तर अहिले ग्यास अभाव हुनुमा ढुवानीमा समस्या नभएको एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरे बताउँछन् ।
निगमले पछिल्लो समय भारतका बरौनी, पारादीप, दुर्गापुर र कर्नाल रिफाइनरीबाट दैनिक सरदर ८० देखि ११२ बुलेटबाट ग्यास आयात हुँदै आएको जनाएको छ । ‘हिजो सवा करोड सिलिण्डर थियो । भोलि सिलिण्डरको संख्या डेढ करोड पुग्दा सवा करोड सिलिण्डर बराबर ग्यास दिएर त पुग्दैन नि,’ घिमिरेले भने, ‘निगमले सिलिण्डर बेसको कोटा निर्धारण नगरेर समस्या निम्त्याएको छ ।’














