जनकपुर, ६ माघ । धनुषाको जनकपुर उपमहानगरपालिका–२३ मा तीनजना सवार भारतीय मोटरसाइकलको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ ।
अन्य चारजना घाइते भएका छन् । मृत्यु हुनेमा स्कुटीमा सवार महोत्तरीको पिपरा गाउँपालिका–५ निवासी ६० वर्षीया राजमरी देवी रहेकी छिन ।
जनकपुर–जलेश्वर सडकखण्डमा शनिबार साँझ ५ बजे जलेश्वरबाट जिरोमाईलतर्फ आउँदै गरेको बी.आर.०६ डि.जे.२६३२ नम्बरको भारतीय नम्बरको मोटरसाईकलले ज १२ प ६०३८ नम्बरको स्कुटरलाई स्कुटरलाई पछाडिबाट ठक्कर दिएको जिल्ला ट्राफिक कार्यालय धनुषाले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते राजमरी देवीको विराटनगरको नोबेल अस्पतालमा उपचारको क्रममा आईतवार बिहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्कुटर चालक ६५ वर्षीय कामेश्वर प्रसाद यादव घाइते भएका छन् । उनको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ । मोटरसाइकल चालक सहित त्यसमा सबार तीनजना भने समान्य घाइते भएका छन् ।