सिरहा, २६ पौंस । सिरहाको धनगढीमाई नगरपालिकामा “धनगढीमाई नगरपालिकाको नीति, कार्यक्रम र बजेटमा दलित समुदायको पहुँच“ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नगरप्रमुख शिवशंकर महतोले दलित समुदायको विकास र सशक्तीकरणका लागि पालिकाले प्रयास गरिरहेको र आगामी दिनमा थप बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नगरप्रमुख महतोले बजेट निर्माणमा दलित समुदायको सक्रिय सहभागिताको आवश्यकता औंल्याउँदै पालिकाले हालसम्म मुसहर समुदायलाई लक्षित गर्दै करार खेती आयोजना सञ्चालन, किसानहरूलाई मोटर वितरण, र चेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि जनसंख्याको अनुपातमा बजेट विनियोजन गर्न नसकिएको स्वीकार गरे। साथै, शिक्षा, स्वास्थ्य र जीविकोपार्जनका लागि विशेष कार्यक्रम ल्याइने प्रतिवद्धता जनाए । कार्यक्रममा नगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीले बालविवाहमुक्त नगर घोषणाका लागि दलित समुदायका छोरीहरूलाई २० वर्षपछि विवाह गर्दा १० हजार रुपैयाँ सहयोग गर्ने कार्यक्रम ल्याएको जानकारी गराइन् ।
उनले दलित समुदायका नेताहरू बजेट निर्माण र नीतिगत सुधारमा पर्याप्त सक्रिय नभएकोले पनि दलित लक्षित बजेट न्यून रहेको बताइन् । कार्यपालिका सदस्य सतीलाल सदाले बजेट निर्माण प्रक्रियामा दलित समुदायको प्रतिनिधित्व र सहभागिता नभएकाले बजेट कम छुट्याइएको बताए। वडाध्यक्ष सूर्यनारायण यादव, हमिद मियाँ, ओमप्रकाश यादव, र सूर्यमान तामाङले आगामी दिनमा दलितलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला पासवानको अध्यक्षतामा अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको थियो । संयोजक मनिष कोइराला र सुशिन्द्र पासवानले प्रस्तुत गरेको प्रतिवेदनमा धनगढीमाई नगरपालिकामा दलित समुदायको बजेट, नीति र कार्यक्रममा पहुँचको अवस्था विवरण प्रस्तुत गरियो ।
सहभागीहरूले पालिकाको उत्तरदायित्वलाई प्रभावकारी बनाउन यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको धारणा राखे । अन्तरक्रियामा दलित समुदायको लागि बजेट प्रभावकारी बनाउन समुदायको सक्रिय सहभागिता, संगठित दबाब, र योजनाबद्ध कार्यको आवश्यकता रहेको औंल्याइयो ।
दलित मैत्री नेतृत्वको अभाव, चेतनाको कमी, र पालिकामा पहुँचको अभावले बजेट प्रभावकारी हुन नसकेको सहभागीहरूको निष्कर्ष थियो । धनगढीमाई नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० मा ८२ करोड २५ लाख ३९ हजार रुपियाँको बजेट सार्वजनिक गरेको थियो। त्यसमा दलितका लागि ७ लाख मात्र छुट्याइएको थियो, जसको प्रतिशत ०.०८ रह्यो ।
आर्थिक वर्ष २०८०÷८१ मा ९० करोड ६३ लाख १८ हजार रुपियाँको बजेट सार्वजनिक गरिएको छ, जसमा दलितका लागि ४७ लाख विनियोजन गरिएको छ। यो बजेटमा दलित लक्षित कार्यक्रमहरूमा मुसहर समुदायको आवास निर्माण, चेतनामूलक तालिम, र सिपमूलक कार्यक्रमका लागि व्यवस्था गरिएको छ ।कार्यक्रमले दलित समुदायको सशक्तीकरण र स्थानीय सरकारको उत्तरदायित्वलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ। सहभागीहरूले दलित समुदायको आवश्यकता र मागलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्न आग्रह गरे ।
यस्तै, यस्ता कार्यक्रमको निरन्तरता र प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षको समन्वयमा काम गर्नुपर्नेमा जोड दिइयो ।
स्थानीय जातीय विभेद तथा छुवाछुत अनुगमन समिति धनगढीमाईका संयोजक टिकाराम विश्वकर्माको अध्यक्षतमा सम्पन्न कार्यक्रममा नगरपालिका सबै वडाका वडाअध्यक्ष,कार्यपालिका सदस्य ,अनुगमन समितिका सदस्य,पत्रकार समेतको सहभागिता रहेको थियो ।