जनकपुर, १९ पौंस । धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका ५ मा स्थित एभरेष्ट पेपर मिल पछिल्लो केही समयदेखि लगातार विवाद र कर्मचारी आन्दोलनको केन्द्र बनिरहेको छ ।
यो मिलका कर्मचारीहरू अहिले विभिन्न स्थानमा अनिश्चितकालीन आन्दोलनमा उत्रिएका छन् । कर्मचारीहरूको अनुसार उनीहरूलाई पछिल्लो १७ महिना देखि तलब प्राप्त भएको छैन, जसका कारण उनीहरू आक्रोशित भएका छन् ।
आन्दोलनकारीहरूले मिलका व्यवस्थापन पक्षसँग बारम्बार माग गरे पनि उनीहरूको समस्या समाधान भएको छैन । विगत केही महिना देखि मिलका कर्मचारीहरूले विभिन्न स्थानहरूमा—कहिलेकाहीं मिलको अगाडि, कहिलेकाहीं महेन्द्रचौक, र कहिलेकाहीं जिल्ला प्रशासन कार्यालय धनुषाको अगाडि आन्दोलन प्रदर्शन गरेका छन् ।यद्यपि, सम्वन्धित निकायहरू र प्रशासनिक तर्फबाट कुनै पनि ठोस कदम नउठाइएपछि कर्मचारीहरू अझै निराश छन् । शुक्रवार कर्मचारीहरूले जनकपुरमा एक अत्यधिक तनावपूर्ण आन्दोलन गरेको समयमा प्रहरीसँग झडपको स्थिति समेत सिर्जना भएको थियो ।
यस समयमा केही कर्मचारी र प्रहरी बीच घम्साघम्सी भएको खवर प्राप्त भएको छ । यो सम्पूर्ण स्थिति मिल प्रशासन र प्रशासनिक निकायको समन्वयको अभावका कारण उत्पन्न भएको हो । कर्मचारीहरूको जीवनयापन संकटमा परेको छ भने, मिल प्रशासन र प्रशासनिक अधिकारीहरूले तिनीहरूको समस्यामा चासो नदिएको भन्दै कर्मचारीहरू आक्रोशित छन् ।
अहिले यो प्रश्न उठिरहेको छ कि आखिर यस समस्याको समाधान कहिले र कसरी हुनेछ? १७ महिनासम्म तलब नपाएका कर्मचारीहरूको संघर्ष अझै जारी रहेको छ, र तिनीहरूले न्यायको लागि मिल र प्रशासनको ध्यानाकर्षण गरिरहेका छन् ।