जनकपुरधाम १७ पुष । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको परिक्रमा क्षेत्रमा मासु र मदिरा उत्पादन, बिक्रीवितरण र उपभोग निषेध गर्न आग्रह गरेका छन् ।
यसलाई कडाइका साथ पालना गर्न जोड दिएका छन । जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री सिंहले जनकपुरधामको धार्मिक तथा सांस्कृतिक परम्परा, गरिमा र प्रतिष्ठा कायम राख्न मासु मदिराको उत्पादन, बिक्रीवितरण र उपभोग नगर्न जनकपुरवासीलाई आग्रह गरेका छन् ।
यस क्षेत्रमा मासु र मदिरा निषेध कडाइका साथ कार्यान्वयन गर्न प्रदेश सरकारले स्थानीय तहका साथै सरोकारवालासँग समन्वय गरिरहेको उनले जानकारी दिए ।
जनकपुरधामको परिक्रमा सडक क्षेत्रमा मासु र मदिराको उत्पादन तथा बिक्रीवितरण गर्न सरकारी निकायले इजाजत दिँदैनन् । तर अनुमतिबिना किनबेच र उपभोग भइरहेको छ । यो दुर्भाग्यपूर्ण रहेको मुख्यमन्त्री सिंहले बताए ।