जनकपुर, १५ पौष । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पत्रकारहरूको पेशागत सुरक्षा र मर्यादाबारे प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।
उनले भने, “पत्रकारहरूको सुरक्षा र पेशागत मर्यादालाई उच्च प्राथमिकता दिने क्रम जारी छ, र यसमा सरकारले थप कदम चालिरहेको छ । यस अवसरमा उनले पत्रकारहरूको सुविधाका लागि सरकारको विभिन्न पहलहरूको बारेमा जानकारी दिए ।
मुख्यमन्त्री सिंहले भने, “चालु आर्थिक वर्षमा मधेश प्रदेशका पत्रकारहरूको सुविधा र सुरक्षा सुनिश्चित गर्न ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
साथै, पत्रकारहरूको पेशागत सुरक्षा सुनिश्चित गर्न ७ लाख रुपैयाँको दुर्घटना बीमा र १ लाख रुपैयाँको स्वास्थ्य बीमा सुनिश्चित गरिएको छ । यससँगै उच्च शिक्षाका लागि छात्रवृत्तिको व्यवस्था पनि गरिएको छ ।समारोहमा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले नेपाल पत्रकार महासङ्घको भवन निर्माणका लागि उपमहानगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
पत्रकारहरूको समृद्धि र सुरक्षामा हामी सबैको सहयोग अपरिहार्य छ,“ उनले भने । नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका नव निर्वाचित अध्यक्ष श्याम बन्जराको अध्यक्षतामा भएको शुभकामना आदान–प्रदान कार्यक्रममा संघीय सांसद प्रभु हजरा महासङ्घका केन्द्रीय सचिव अशोक तिवारी, निवर्तमान सचिव दिपेन्द्र चौहान, र लेखा समितिका संयोजक केसी लामिछानेले पनि पत्रकारहरूको सुरक्षा र अधिकारका पक्षमा बोल्दै सबैको सहयोगका लागि आह्वान गरे ।यसअघि महासङ्घका अध्यक्ष राजेश कुमार कर्णले नव निर्वाचित अध्यक्ष श्याम बन्जरालाई पद हस्तान्तरण गरेका थिए । कार्यक्रमको अन्त्यमा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार रामभरत साहले सबै नव निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए ।