महोत्तरी, १४ पौस । महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष राम जानकी यादवले दलित समुदायका लागि थप बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
आइतबार गाउँपालिकाको सभाहलमा आयोजित ूनीति, कार्यक्रम र बजेटमा दलित समुदायको पहुँचू विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दलित समुदायका लागि चालु हिउँदे अधिवेशनबाटै विशेष कार्यक्रम कार्यान्वयन गर्न बजेट छुट्याउने बताएका हुन् ।
कार्यक्रममा अध्यक्ष यादवले विगतमा राज्यले दलित समुदायमाथि गरेको विभेदका कारण उनीहरू पछाडि परेको तथ्यलाई स्वीकार गर्दै, राज्यले बनाएको नीति प्रभावकारी रूपमा लागू गर्न पालिका प्रतिबद्ध रहेको उल्लेख गरे ।
उनले भने दलित समुदायका लागि हामीले केही सकारात्मक प्रयास गरेका छौं, तर अझै पर्याप्त बजेट विनियोजन गर्न सकेका छैनौं भन्ने स्वीकार्छु । आगामी दिनमा यसलाई सुधार गर्न ठोस योजना बनाउनेछौं ।
अध्यक्ष यादवले पिपरा गाउँपालिकाको कार्यपालिकामा ४० प्रतिशत दलित सदस्य रहेको जानकारी गराउँदै, स्थानीय जातीय भेदभाव तथा छुवाछूत अनुगमन समितिलाई दलित सशक्तीकरणका लागि प्रभावकारी योजना प्रस्तुत गर्न आग्रह गरे ।
यदि प्रस्ताव गरिएका योजनाहरू कार्यान्वयन योग्य भए, तिनलाई चालु आर्थिक वर्षकै हिउँदे अधिवेशनबाटै बजेटमा समेट्ने उनले बताए । पालिकाकी उपाध्यक्ष बन्दना पाण्डेयले पनि कार्यक्रमलाई सम्बोधन गर्दै दलित समुदायका लागि पालिका सहजीकरण गर्न तयार रहेको बताइन् ।
साथै, दलित समुदाय आफैं पनि आफ्नो हक अधिकारका लागि सक्रिय हुनुपर्नेमा उनले जोड दिइन् । कार्यक्रममा दलित समुदायका अधिकार, अवसर र स्थानीय सरकारका सुधारात्मक उपायबारे गहन छलफल भएको थियो । सहभागीहरूले पालिकाको बजेट, नीति तथा कार्यक्रम निर्माण प्रक्रियामा दलित समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्न आग्रह गरे ।
दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला पासवानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक मनिष कोईरालाले पिपरा गाउँपालिकामा दलित समुदायको पहुँचबारे अध्ययन प्रतिवेदन प्रस्तुत गरे ।
२०७९र८० आर्थिक वर्षको बजेटमा पिपरा गाउँपालिकाले दलित समुदायका लागि ७५ लाख ८८ हजार विनियोजन गरेको थियो, जुन कुल बजेटको ०।८९ प्रतिशत मात्र हो ।
यो रकम दलित समुदायका छात्रवृत्ति, सामुदायिक भवन निर्माण, सीपमूलक तालिम र सांस्कृतिक कार्यक्रमका लागि छुट्याइएको थियो । २०८०र८१ आर्थिक वर्षका लागि पिपरा गाउँपालिकाले ५२ लाख २ हजार दलित लक्षित बजेट छुट्याएको छ, जुन कुल बजेटको १।११ प्रतिशत हो ।
यसबाहेक, पालिकाले दास समुदायका धर्मशाला निर्माण, सीपमूलक तालिम, र दलित समुदायको भौतिक पूर्वाधार सुधारका लागि समेत बजेट विनियोजन गरेको छ । दलित लक्षित बजेट प्रभावकारी बनाउन समुदायको सक्रिय सहभागिता, संगठित दबाब, र नीति निर्माणमा प्रभावकारी योजना आवश्यक रहेको सहभागीहरूले बताए ।
दलित सरोकारका क्षेत्रमा दलितमैत्री नेतृत्वको अभाव, चेतनाको कमी, र समुदायको सीमित पहुँच जस्ता कारणले बजेट प्रभावकारी हुन नसकेको अध्ययनहरूले देखाएको छ । कार्यक्रम सञ्चालन पत्रकार कुलदीप दासले गरेका थिए ।