बारा, १४ पौस । बारामा नेपाल प्रहरीका कार्यालय सहयोगीको गोली हानी हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय, सिमरामा दरबन्दी भई हाल विमानस्थल सुरक्षा गार्ड सिमरामा कार्यरत प्रहरी कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्या भएको छ ।
उनको शव पुस ६ गते कारभित्र फेला परेको थियो । बाराको जितपुरसिमरा उपमहानगरपालिका–११ बकुलियाबाट रमौली लोसन्डा जाने सडकखण्डमा बागमती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको विद्युतीय कारभित्र रुम्बाको शव फेला परेको थियो ।
चालक बस्ने सिटमा शव रहेको सूचना पाएपछि प्रहरीले अनुसन्धान गर्दा उक्त शव जितपुरसिमरा उपमहानगरपालिका–१ घर भई प्रहरीमै कार्यरत व्यक्तिको रहेको खुलेको थियो ।
शव पोस्टमार्टमका क्रममा टाउकोमा गोली फेला परेको थियो । उक्त कार राष्ट्रिय अनुसन्धान विभागका अधिकृत श्रीकान्त तिवारीको भएको खुलेको छ ।
जितपुर सिमरा उपमहानगरपालिका–३ घर भई राष्ट्रिय अनुसन्धान कार्यालय बारामा दरबन्दी भएका तिवारी पनि सिमरा विमानस्थलमै कार्यरत थिए ।
गुप्तचरका अनुसन्धान अधिकृतले भने सोधपुछको क्रममा मृतक रुम्बाले आफ्नो गाडी मागेर लगेको बताएको बाराका प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाले बताए ।