जनकपुर, १३ पौस । जनकपुर उपमहानगरपालिका–९ स्थित साकेत नगरमा रहेको पाकबतीसर पोखरीमा आज बिहान एक नवजात शिशुको लाश फेला परेको छ ।
यस घटनामा धनुषा जिल्ला प्रहरी कार्यालयले छानबिन थालेको छ । पोखरीका डिलमा बस्ने स्थानियहरुले यस घटनाले मानसिक र सामाजिक तनावमा परिरहेको बताएका छन् ।
यो पोखरीमा विभिन्न समयमा नवजात शिशुहरूको लाश फेला पर्ने गरेको छ, जसले स्थानीय समुदायमा सुरक्षा र नियन्त्रणको सन्देश दिनुको आवश्यकता औंल्याएको छ ।
पोखरीको वरिपरि हालको अवस्था विशेष गरी जानकी हाई स्कूलको नजिक पाकबतीसर पोखरीतर्फ जाने बाटोमा केटा र केटीका समूहले अस्लील कार्य गर्ने दृश्यहरू देखिएका छन् । अहिले यो क्षेत्रको स्थिति निकै चिन्ताजनक बनेको छ । जहाँ रातीको समयमा पनि यस्ता गतिविधिहरू बढ्दै जानु, साथै पोखरीमा शिशुहरूको लाश फेला पर्ने घटनाले सुरक्षा सम्बन्धी ठूलो प्रश्न उठाएको छ ।
स्थानीय समुदाय र प्रहरीका अधिकारीहरूले यस घटनामा सक्रियतासाथ छानबिन गर्दै शिशुहरूको सुरक्षा र पोखरी वरिपरि हुने अस्लील गतिविधिहरू रोक्ने उपायहरूको खोजी गरिरहेका छन् ।