जनकपुरधाम, २८ मंसिर । जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुष यज्ञ मनाइँदै छ ।
त्रेता युगमा भगवान रामले धनुष यज्ञमा सहभागि भएर कसैले उठाउन नसकेको शिव धनुष भाँचेपछि मिथिलाका राजा जनककी छोरी जानकी संग विवाह भएको धार्मिक मान्यता छ ।
त्यही मान्यता अनुसार आज विवाहपञ्चमीको तेस्रो दिन प्रत्येक वर्ष जनकपुरमा धनुष यज्ञ आयोजन हुने गर्छ । आजका दिन रामका स्वरुप बनेका बालबालिकाले धनुषा भाँचेर धनुष यज्ञ मनाउने गरिन्छ ।
अपराह्न धनुषा यज्ञ आयोजन गरिएको जानकी मन्दिरका महन्थले जनाएको छ । रामायणमा वर्णन गरिए अनुसार त्रेता युगमा राजा जनकलाई उक्त शिव धनुष भगवान पर्शुरामले प्रदान गरेका थिए ।
राजा जनकले उक्त धनुष उचाल्ने व्यक्तिसित मात्र छोरी सीताको विवाह गरिदिने अठोटसहित धनुषयज्ञ आयोजना गरेका थिए । उक्त धनुष कसैले हल्लाउन पनि सकेनन् ।
तर, अयोध्याबाट आएका भगवान रामले उठाएपछि धनुष टुक्रा भएको रामायणमा वर्णन गरिएको छ । त्यसपछि सीतासंग रामको विवाह भएको धार्मिक मान्यता छ ।
चौथो दिन शुक्रबार तिल्कोत्सव रहेको छ । पाँचौ दिन शनिबार राम र जानकीको मटकोर, छैटो दिन आइतबार विवाहको मुख्य दिन विवाहपञ्चमी र छैटो दिन सोमबार रामकलेवा गरी विधिवत् रुपमा विवाहपञ्चमी महोत्सव समापन हुनेछ ।