जनकपुरधाम, २७ मंसिर । बाराको सिम्रौनगढ नगरपालिकामा बुधबार भएको तनावका कारण एकजनाको ज्यान गएको छ ।
सिम्रौनगढ नगरपालिकाको कार्यालय परिसरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । झडपका क्रममा प्रहरीले सुरुमा अश्रुग्यास र हवाई फायर गरेको थियो ।
त्यसपछि पनि अवस्था नियन्त्रणमा आउन नसक्दा प्रहरीले गोली चलाउनु परेको प्रहरीले जनाएको छ । गोली लागेर घाइते भएका सिम्रौनगढ नगरपालिका–१ नमसंग्राढाटका २५ वर्षीय लक्ष्मी मुखियाको नारायणी अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्य’ भएको छ ।
तलब नपाएपछि उक्त नगरपालिका क्षेत्रका कर्मचारी र शिक्षकहरूले केही महिनादेखि नगर परिसरमा धर्ना दिँदै आएका थिए । तर बुधबार अवस्था भड्किएको हो ।
नगरपालिकाका मेयर किशोरी साह कलवार र प्रमुख प्रशासकीय अधिकृत महेश मिश्र सवार गाडीमा तोडफोड भएको थियो । मेयरको गाडीमा प्रमुख प्रशासकीय अधिकृत मिश्र आएपछि आक्रोशित कर्मचारीहरूले ढुंगा हानेका थिए ।