काठमाडौं,२६ साउन । व्यापारी राकेश अकुडियाका छोरा रोहन अडुकिया पक्राउ परेका छन् । उनी शुक्रवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।
नयाँ दिल्ली हुँदै इन्डियो विमानमार्फत काठमाडौं आएका उनलाई विमानस्थलबाटै अध्यागमन विभागले पक्राउ गरेको छ । पक्राउ गरेर उनलाई राजश्व अनुसन्धान विभागमा बुझाइएको छ ।
१ क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा राजश्व अनुसन्धान विभागले यसअघि व्यापारी अडुकियाको घरमा छापा मारेको थियो । छापा मार्दा सय किलो सुन तस्करीमा मुछिएका अडुकियाका बाबुछोरा नै फेला परेका थिएनन् ।
उनीहरूले देश छाडेको अनुमान गरिएको थियो । शंकास्पद व्यापारी अडुकियाले हङकङको काउलिन शहरमा आफ्नो कार्यालय खोलेको र भन्सार विभागले त्यहाँको विवरण मागेपछि उनी हङकङबाट पनि भागेको अनुमान गरिएको थियो ।
उनी २८ वर्षअघि पनि सुन तस्करीमा लागेको तथ्य खुलेको छ । व्यापारी अडुकिया २०५२ साउन १० गते २ किलो ८८ ग्राम सुनसहित पक्राउ परेको तथ्य भेटिएको छ ।