जनकपुर, २५ कार्तिक । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी कात्तिक २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।
उनले दिउँसो १ बजे विश्वासको मत लिने तयारी गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सुरेश यादबले जानकारी दिएका छन्।
नेपाली कांग्रेसको नेतृत्वमा रहेको मधेस प्रदेश सरकारबाट नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाहिरिएपछि सरकार अल्पमतमा परेको छ। दुवै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेकपाबाट सरकारमा सहभागी चार मन्त्रीले समेत राजीनामा दिएका छन्।
१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार टिकाउन कम्तीमा ५४ सांसदको समर्थन आवश्यक हुन्छ। एमाले र नेकपा सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री यादवका लागि आवश्यक बहुमत जुटाउनु चुनौतीपूर्ण बनेको छ।
मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्ने वा नगर्ने विषयले मधेस प्रदेशको वर्तमान सरकारको भविष्यसँगै आगामी सत्ता समीकरणसमेत निर्धारण गर्ने देखिएको छ।














