काठमाडौं, २५ कार्तिक । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज देशभर दाजुभाइले दिदीबहिनीको हातबाट सप्तरङ्गी टीका र माला ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन्।
हरेक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका तिहारको प्रमुख पर्व हो। यस अवसरमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख र समृद्धिको कामना गर्दै परम्पराअनुसार टीका तथा फूलमाला लगाइदिने गर्छन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। यद्यपि दिनभर टीका लगाउन सकिने समितिले जनाएको छ। यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्व र लगाउने दाजुभाइ पश्चिम फर्कनुपर्ने बताइएको छ।
भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर टीका लगाइदिने, मखमली, सयपत्री तथा गोदावरीका माला पहिर्याउने र विभिन्न परिकार खुवाउने परम्परा छ। त्यसैगरी दाजुभाइले पनि दिदीबहिनीलाई दक्षिणा तथा उपहार दिएर सम्मान प्रकट गर्ने गर्छन्।
दिदीबहिनी वा दाजुभाइ नहुने व्यक्तिका लागि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज भक्तजनका लागि खुला गरिएको छ। वर्षमा एकपटक भाइटीकाकै दिन खुल्ने उक्त मन्दिरमा भक्तजनले पूजा, दर्शन तथा टीका लगाउने परम्परा छ। त्यस्तै, जयवागेश्वरी स्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि टीका लगाउने व्यवस्था रहेको छ।
यसैबीच, नेवार समुदायले भाइटीकालाई किजापूजाका रूपमा मनाउने गर्छन्। समुदायको परम्परा र धार्मिक मान्यताअनुसार कतिपयले अघिल्लो दिन र कतिपयले आज किजापूजा गर्ने चलन रहेको छ।














