काठमाडौं, २५ कार्तिक । प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव, विश्वास र आत्मीय सम्बन्धलाई थप मजबुत बनाउने बताएका छन्।
यमपञ्चकको अन्तिम दिन भाइटीकाको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।
उनले पौराणिक मान्यताअनुसार यमराज र उनकी बहिनी यमुनाबीचको प्रेम तथा आत्मीयतासँग भाइटीकाको परम्परा जोडिएको उल्लेख गरेका छन्। यस पर्वमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र सुखद भविष्यको कामना गर्दै सप्तरङ्गी टीका, माला र विभिन्न परिकारसहित पूजा गर्ने परम्परा रहेको उनले बताएका छन्।
त्यस्तै, दाजुभाइले पनि दिदीबहिनीलाई दक्षिणा तथा उपहार प्रदान गर्दै आशीर्वाद लिने चलनले पारिवारिक सम्बन्ध र आपसी सद्भावलाई अझ बलियो बनाउने प्रधानमन्त्री शाहको भनाइ छ।














