काठमाडौं, २४ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ।
बलरहरूको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.५ ओभरमा ९३ रनमै समेटियो।
जनकपुरका लागि तृतराज दासले सर्वाधिक २१, जिमी निसमले २० र आदित्य महताले १० रन बनाए। सुदूरपश्चिमका स्कट कुगेलेइनले ३ विकेट लिए भने अन्य चार बलरले समान १ विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२० रन बनाएको थियो। उसका ब्रान्डन म्याकमुलेनले ३३ र थरिन्दु रत्नायकेले अविजित २७ रनको योगदान दिए। जनकपुरका कप्तान हरमीत सिंहले सर्वाधिक ४ विकेट लिए।
जितसँगै ६ खेलबाट ८ अंक जोडेको सुदूरपश्चिम अंकतालिकाको दोस्रो स्थानमा पुगेको छ। समान अंक रहेको काठमाडौं गोर्खाज रनरेटका आधारमा शीर्ष स्थानमा छ।
यता ६ खेलमा चौथो हार बेहोरेको जनकपुर ४ अंकसहित पाँचौँ स्थानमा छ। यस हारले जनकपुरको प्लेअफ सम्भावनामा दबाब बढाएको छ।
लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले काठमाडौं गोर्खाजसँग र जनकपुरले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ।














