काठमाडौं, २७ असोज । गृहमन्त्री सुधन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच मंगलबार नयाँदिल्लीमा भेटवार्ता भएको छ।
भारतमा आयोजित पहिलो बिमस्टेक गृह मन्त्रीस्तरीय बैठकमा सहभागी हुन पुगेका गुरुङले शाहसँग द्विपक्षीय सुरक्षा सहयोग, सीमा व्यवस्थापन तथा अन्तरदेशीय अपराध नियन्त्रणबारे छलफल गरेका हुन्।
भेटमा विपद् पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउने विषयमा पनि कुराकानी भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ। गृहमन्त्री गुरुङले पारस्परिक सम्मान, विश्वास र समानताका आधारमा दुवै देशबीच व्यावहारिक सहयोग अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
यसै क्रममा उनले नेपालमा हालै आएको बाढीपहिरोपछि भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन्।














