काठमाडौं, १४ असोज । प्रतिनिधिसभाको बुधबार बसेको बैठकले विभिन्न विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ।
बैठकले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ लाई समितिमा पठाउन स्वीकृति दिएको हो।
त्यस्तै, ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ।
बैठकले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३’ लाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित पारित गरेको छ।
सभामुख डोलप्रसाद अर्यालले बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन्।














