काठमाडौं, १४ असोज । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन्।
उनका अनुसार कारखाना स्थापनाका लागि सरकारले छिट्टै प्रस्ताव आह्वान गर्ने तयारी गरेको छ। सिंहदरबारमा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रसँगको सहकार्यमा मल कारखाना स्थापना गर्ने सरकारको योजना रहेको जानकारी दिएका हुन्।
छलफलमा सहभागी रास्वपा सांसद डा. राम लामाका अनुसार मल कारखानासँगै विद्युत् खपत बढाउने उद्योग तथा आयोजनालाई सरकारले आवश्यक सहुलियत दिने तयारी गरेको छ।
प्रधानमन्त्री शाहले औद्योगिकीकरणका लागि नयाँ योजना र नीतिगत सुझाव ल्याउन सांसद तथा सम्बन्धित व्यक्तिलाई आग्रह गर्दै त्यस्ता प्रस्तावमा आवश्यक छलफल गर्न आफू तयार रहेको बताएका थिए।














