काठमाडौं, १४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले प्रेस काउन्सिलका अध्यक्षलाई धम्की दिएको भन्दै पत्रकार महासङ्घका केही नेताप्रति आपत्ति जनाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै खत्रीले पत्रकारको नाममा धम्की र गुण्डागर्दीको भाषा प्रयोग गर्न नहुने बताए। उनले श्रमजीवी पत्रकारले पारिश्रमिक नपाउँदा मौन बस्ने तर सञ्चारगृहले सरकारी विज्ञापन कम पाएको विषयमा धम्की दिने प्रवृत्तिमाथि प्रश्न उठाए।
खत्रीले सरकारी विज्ञापन वितरणमा हुने भनिएको अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने बताउँदै सञ्चार संस्थाले आफ्नो आर्थिक तथा व्यावसायिक भविष्यबारे आफैं योजना बनाउनुपर्ने धारणा राखे।
उनले पत्रकार महासङ्घजस्तो स्वतन्त्र र निष्पक्ष संस्थाका नेतृत्वले राजनीतिक दलको प्रभावबाट टाढा रहेर पत्रकारिताको मर्यादा कायम गर्नुपर्नेमा जोड दिए।














