काठमाडौं, ९ असोज । सरकारले दलित समुदायको आधिकारिक परिभाषासहित १ हजार ४०१ थर र उपथरको सूची नेपाल राजपत्रमा प्रकाशित गरेको छ।
राष्ट्रिय दलित आयोगको सिफारिसमा मन्त्रिपरिषद्ले स्वीकृत गरेको दलित समुदायको परिभाषा र थर सूची महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको हो।
राजपत्रले दलित समुदायलाई ऐतिहासिक रूपमा जातीय विभेद, बहिष्करण र उत्पीडनमा पारिएका तथा श्रम, सीप र कलामार्फत राज्य निर्माणमा योगदान पुर्याएका समुदायका रूपमा परिभाषित गरेको छ।
सूचीमा पहाडी र मधेशी दलित गरी दुई समूह समेटिएका छन्। पहाडी दलितअन्तर्गत विश्वकर्मा, परियार, मिजार, वादी, गन्धर्व, च्यामे र पोडे समुदाय तथा गैरदलितसँग मिल्ने थरहरू समावेश छन्। त्यस्तै मधेशी दलितअन्तर्गत चमार, मुसहर, दुसाध (पासवान), तत्मा, खत्वे, धोबी, डोमलगायत विभिन्न समुदायका थरहरू सूचीबद्ध छन्।
गैरदलितसँग मिल्ने थरका कारण दलित पहिचानमा देखिएको अन्योल हटाउने तथा आरक्षण, छात्रवृत्ति, सामाजिक सुरक्षा लगायत लक्षित सुविधा वितरणमा स्पष्टता ल्याउने अपेक्षा सरकारले गरेको छ।














