काठमाडौँ, १० असोज । कोसी, नारायणी र तिनका सहायक नदीमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ।
बागमती, पश्चिम राप्ती र बबई नदी पनि सतर्कता तह नजिक रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आगामी तीन दिनको पूर्वानुमानअनुसार पहेँलो र सुन्तला रङमा सूचीकृत नदी तथा जिल्लाका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
शनिबार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौँ, चितवन, रसुवा, नुवाकोट, दाङ, जुम्ला, दैलेख, बाजुरा, अछाम, बझाङ, दार्चुला, बैतडीलगायत क्षेत्रमा साना नदी तथा खोलामा बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
त्यस्तै गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, नवलपरासी, म्याग्दी, बागलुङ, पाल्पा, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डोटी, हुम्ला, डडेल्धुरालगायत क्षेत्रमा आकस्मिक बाढीको उच्च जोखिम रहेकाले सुन्तला रङको चेतावनी जारी गरिएको छ।














