काठमाडौँ, ६ असोज । सरकारले जेन–जी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने व्यवस्था गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले तयार गरेको ‘जेन–जी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई निःशुल्क शिक्षा प्रदान गर्नेसम्बन्धी मापदण्ड, २०८३’ अनुसार सहिदका छोराछोरी, सहोदर दाजुभाइ–दिदीबहिनी तथा गम्भीर र अति गम्भीर घाइते परिचयपत्रवाहकलाई लाभग्राही मानिएको छ।
मापदण्डअनुसार आधारभूत र माध्यमिक तहका विद्यार्थीलाई निःशुल्क शिक्षासँगै पोशाक तथा पाठ्यसामग्रीका लागि नगदसमेत उपलब्ध गराइनेछ। स्नातक तहमा विश्वविद्यालयले दिने छात्रवृत्तिमा निश्चित कोटा छुट्याइने र त्यसमा छनोट हुन नसकेकालाई विश्वविद्यालय अनुदान आयोगमार्फत छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था गरिएको छ।
लाभ लिन विद्यालय तहका विद्यार्थीले स्थानीय तहमार्फत र स्नातक तहका विद्यार्थीले सम्बन्धित क्याम्पसमार्फत आवेदन दिनुपर्नेछ। आवेदनमा लाभग्राही परिचयपत्र, नागरिकता वा जन्मदर्ता, नाता प्रमाणित कागजात र शैक्षिक संस्थाको सिफारिस आवश्यक पर्नेछ।














