काठमाडौँ, ६ असोज । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन मंगलबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका प्रस्थान गरेका छन्। यो उनको पहिलो विदेश भ्रमण हो।
कतारको दोहा हुँदै न्युयोर्क पुगेपछि प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। सम्बोधनका क्रममा उनले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेका समस्या तथा न्यून हरितगृह ग्यास उत्सर्जन गर्ने नेपालजस्ता संवेदनशील मुलुकले बेहोर्नुपरेको क्षतिको विषय उठाउनेछन्।
महासभाका क्रममा शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ। उनी असोज ९ गते न्युयोर्कबाट दोहा हुँदै असोज १० गते नेपाल फर्कने तालिका छ।
प्रधानमन्त्री शाह विदेश भ्रमणमा गएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन्।














