जनकपुर, ४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश सिंहले छठ पर्वको भोलिपल्ट जनकपुरधामबाट मेची–महाकाली पदयात्रा सुरु गर्ने बताएका छन्।
आइतबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले मधेशलाई नजिकबाट बुझ्न, जनताका कुरा सुन्न र समाजलाई जोड्ने उद्देश्यले पदयात्रा गर्न लागेको बताए। उनले पदयात्राका क्रममा दैनिक करिब पाँच घण्टा हिँड्ने र सात घण्टा जनतासँग संवाद गर्ने योजना सुनाए।
सिंहले जनकपुरधामको गंगासागरबाट माटो र पानी लिएर यात्रा सुरु गरी माघेसंक्रान्तिका दिन महाकाली नदीमा जौ–तिल विसर्जन गर्ने बताए। मधेशका शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, सुरक्षा र सरसफाइमा सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले वर्तमान सरकारले मधेशलाई पर्याप्त प्राथमिकता नदिएको दाबी गरे।














