काठमाडौँ, १ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान, २०७२ को समीक्षा, संशोधन तथा आवश्यकताअनुसार पुनर्लेखन गर्न सरकारसमक्ष तीन सुझाव दिएका छन्।
यादवले संविधानका सकारात्मक उपलब्धि जोगाउँदै सङ्घीयता, समानता, समावेशिता, सामाजिक न्याय र लोकतान्त्रिक गणतन्त्रलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन्।
उनका तीन मुख्य सुझावमा संविधान संशोधनको बहसलाई समग्र र निष्कर्षमुखी बनाउने, संरचनात्मक सुधारमार्फत राज्य पुनर्संरचना गर्ने तथा राजनीतिक संवाद र सहमतिबाट संशोधन अघि बढाउने विषय छन्।
यादवले सङ्घीयता, निर्वाचन प्रणाली, शासकीय स्वरूप, न्यायपालिका, प्रदेशको अधिकार, निर्वाचन क्षेत्र निर्धारण तथा सङ्घ, प्रदेश र स्थानीय तहबीच अधिकार र स्रोत बाँडफाँटमा देखिएका समस्या समाधान गर्नुपर्ने बताएका छन्।
साथै मधेसी, आदिवासी जनजाति, दलित, थारू, मुस्लिम, महिला तथा अन्य सीमान्तकृत समुदायका अधिकार र पहिचानलाई सम्बोधन गर्दै संविधानप्रति सबै समुदायको अपनत्व बढाउनुपर्ने उनको धारणा छ।














