जनकपुर, १ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनामा १ किलो ६४३ ग्राम सुनसहित ४५ जना पक्राउ परेका छन्।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार २०८३ साउन १ देखि भदौ मसान्तसम्म अवैध रूपमा सुन ओसारपसार गर्ने गतिविधिमाथि निगरानी तथा जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्। बरामद सुनको अनुमानित मूल्य ४ करोड २५ लाख ७३ हजार १८६ रुपैयाँ रहेको छ।
प्रारम्भिक अनुसन्धानमा तस्करहरूले विदेशबाट फर्किएका नेपाली यात्रुलाई रकमको प्रलोभन देखाएर सुन बोकाएर नेपाल ल्याउने गरेको खुलेको प्रहरीले जनाएको छ।
यस्तै, सोही अवधिमा भन्सार छली ल्याइएका मोबाइल, ल्यापटप, भेपलगायत विद्युतीय सामग्रीसहित १० जना पक्राउ परेका छन्। उनीहरूबाट करिब ८८ लाख २२ हजार रुपैयाँ बराबरका सामग्री बरामद भएको छ। पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
विमानस्थल सुरक्षा कार्यालयले यात्रुलाई तस्करको प्रलोभनमा नपर्न र भन्सार तथा प्रचलित कानुनको पूर्ण पालना गर्न आग्रह गरेको छ।














