काठमाडौँ, १ असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन एकताबद्ध रूपमा सम्पन्न गर्न आफू आवश्यक लचकता अपनाउन तयार रहेको बताएका छन्।
बिहीबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले पूर्वसभापति शेरबहादुर देउवासहित सबै नेताहरूलाई एउटै ठाउँमा जोडेर महाधिवेशन सम्पन्न गर्न आग्रह गरे।
उनले छोटो समय भएकाले महाधिवेशन व्यवस्थापन, आवास, भोजनलगायतका काममा सबै पक्षको सहयोग आवश्यक रहेको बताए। महाधिवेशनपछि भ्रातृ संस्थासहित पार्टीका अन्य विषयमा पनि सबैसँग छलफल गरी सहमतिका आधारमा अघि बढ्ने उनको भनाइ छ।














