काठमाडौं, ३० जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि धुम्बाराहीस्थित पार्टी प्यालेसमा विद्युतीय मतदान जारी रहेको छ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार निर्धारित समयभन्दा केही ढिलो सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन गर्ने तयारी गरिएको छ। आवश्यक परे मतदान समय थप गर्न सकिने जनाइएको छ।
यसअघि हेटौँडामा सुरु भएको अधिवेशन प्राविधिक तथा व्यवस्थापकीय कारणले स्थगित गरिएको थियो। आवश्यक तयारी पूरा भएपछि निर्वाचन प्रक्रिया पुनः अघि बढाइएको हो।
अधिवेशनमा एक हजारभन्दा बढी मतदाताले मतदान गर्ने अपेक्षा गरिएको छ। रास्वपाले प्रदेश नेतृत्व चयनलाई संगठन सुदृढीकरणसँग जोडेर हेरेको छ भने यसको नतिजालाई आगामी राष्ट्रिय महाधिवेशनको तयारीका लागि महत्त्वपूर्ण मानिएको छ।














