मोरङ, २७ मंसिर । मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैचा नगरपालिका–१२ बिराटचोकका ६० वर्षीय भवकृष्ण घिमिरे रहेका छन् ।
प्रहरीका अनुसार घिमिरे आज बिहान दूध बिक्रीका लागि स्थानीय डेरीतर्फ जाँदै गर्दा जङ्गली हात्तीको आक्रमणमा परेका थिए । घटना बिहान करिब ६ः३० बजेतिर भएको हो ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक राजीव गिरीले दिएको जानकारीअनुसार हात्ती बस्ती क्षेत्रभित्रै प्रवेश गरेको थियो ।
घिमिरे बस्तीको बीच भागमा हिँडिरहेका बेला अचानक हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । बिहानको समयमा मानिसहरूको आवतजावत हुने क्षेत्रमा नै जङ्गली हात्ती देखिएपछि सुरक्षालाई ध्यानमा राख्दै प्रहरीले स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ ।
प्रहरी र वन कार्यालयको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा हात्तीलाई बस्ती बाहिर धपाउने प्रयास गरिरहेको जनाएको छ ।














