टोकियो । जापानको उत्तर–पूर्वी क्षेत्रमा शुक्रबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले जनाएको छ ।
स्थानीय समय अनुसार बिहान ११ः४४ बजे गएको यस भूकम्पको गहिराइ करिब २० किलोमिटर रहेको र केन्द्रविन्दु आओमोरी प्रिफेक्चरको पूर्वी समुन्द्री तट नजिक रहेको बताइएको छ ।
भूकम्पपछि जेएमएले जापानको पूर्वी तटका केही तटीय भागका लागि सुनामी चेतावनी जारी गरेको छ । चेतावनी अनुसार, समुन्द्री लहरको उचाइ १ मिटर (३.३ फिट) सम्म पुग्न सक्ने जनाइएको छ। एजेन्सीका अनुसार आओमोरी प्रिफेक्चरको हाचिनोहे सहरमा २० सेन्टिमिटर (८ इन्च) उचाइको प्रारम्भिक सुनामी लहर रेकर्ड गरिएको छ ।
जापानको आपत्कालीन चेतावनी प्रणाली एनईआरभीका अनुसार आओमोरी प्रिफेक्चरको मुत्सु सहरमा करिब ६,००० स्थानीयबासीलाई सुरक्षित स्थानतर्फ जान सूचना जारी गरिएको छ । अधिकारीहरूले जल–तट नजिक नजान, स्थानीय प्रशासनको निर्देशन सावधानीपूर्वक पालना गर्न र उच्च भूभागमा जान आग्रह गरेका छन् ।
यसै साताको प्रारम्भमा सोही क्षेत्रमा ७.५ म्याग्निच्युडको विनाशकारी भूकम्प गएको थियो, जसमा धेरै बासिन्दाहरू घाइते भएका थिए । त्यतिबेला नै विशेषज्ञहरूले एक हप्ता उच्च सतर्कता अपनाउन, थप बलिया कम्पन आउन सक्ने सम्भावनाबारे चेतावनी दिएका थिए । आजको ६.७ म्याग्निच्युडको भूकम्पपछि ४.५ देखि ५.७ म्याग्निच्युडका तीन वटा पराकम्प रेकर्ड भइसकेका छन् ।
आपतकालीन तयारी सामग्री जुटाउन, सतर्क रहन र अत्यावश्यक अवस्थामा सुरक्षित मार्ग पहिचान गरेर बस्न अधिकारीहरूले आमनागरिकलाई अनुरोध गरेका छन् ।














