जनकपुर, २३ मंसिर । धनुषामा नाबालिग बलात्कार अभियोगमा फरार ठहरिएका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकामध्ये जनकपुरका शिवशंकर साह (हिरा साह) र नाबालिगकी मामाका रूपमा परिचित सञ्जय महासेठ रहेका छन् । प्रहरीका अनुसार मुख्य अभियुक्त मानिएका शिवशंकर साहलाई भारतको बिहार राज्यस्थित सीतामढी जिल्लाबाट पत्ता लगाई मंगलवार नियन्त्रणमा लिइयो ।
आवश्यक कानुनी प्रक्रियापछि उनलाई अबेर राति धनुषा ल्याइएको जनाइएको छ । साहलाइ पक्राउ गर्न तत्कालीन अन्तर्राष्ट्रिय समन्वय र स्थानीय सुरक्षा निकायबीच समन्वय गरिएको प्रहरी स्रोतले बताएको छ ।
त्यसैगरी, घटनामा संलग्न रहेको आरोपमा नाबालिगका मामा सञ्जय महासेठलाई भने प्रहरीले जनकपुरबाट नै पक्राउ गरेको बताइएको छ ।
अनुसन्धानका क्रममा दुवै जनालाई छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयले आवश्यक अनुसन्धान अघि बढाएको छ ।
शिवशंकर साह गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट जनकपुर उपमहानगरपालिकाको मेयरका उम्मेदवार बनेका थिए । दुवै पक्राउ परेकाहरूमाथि आवश्यक विधि–विधानअनुसार अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।














