काठमाडौं, २३ मंसिर । हामी नेपाल’ का संस्थापक सुधन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीसँग सिंहदरबारमा भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटका क्रममा गुरुङले सरकार र जेन–जी आन्दोलनसँग भइरहेको सम्झौता प्रक्रियाबारे चासो व्यक्त गरेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार गुरुङले जेन–जी आन्दोलनलाई औपचारिक मान्यता प्रदान गर्ने गरी तयार भइरहेको सहमतिको काम शीघ्र अघि बढाउनुपर्ने आवश्यकता औंल्याए ।
उनले सम्झौता टुंगिएपछि दस्तावेजलाई राष्ट्रपतिबाट छिटो हस्ताक्षर गराउने प्रक्रिया मिलाउन पनि आग्रह गरेका थिए । गुरुङले आन्दोलनका क्रममा सडकमा उतरेका युवामाथि प्रहरीद्वारा गरिएको धरपकड, र धरौटी मिनाहा गर्न नसक्दा पुर्पक्षका लागि थुनामा राखिएका केही अभियन्ताहरूको अवस्थाबारे चिन्ता प्रकट गरे।
उनका अनुसार शान्तिपूर्ण आन्दोलनमा सहभागी भएका युवामाथि गैरजरुरी कडाइ गरिएकोले यसले मनोबलमा असर पारेको छ । उनले आन्दोलनका मुद्दाहरू छानबिन गरी न्यायिक प्रक्रियालाई न्यायोचित र सरल बनाउन सरकारले भूमिका खेल्नुपर्ने आवश्यकता पनि जोड दिए ।
प्रधानमन्त्री कार्कीले भने सहमति प्रक्रियालाई सहज र द्रुत रूपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएको सचिवालयले जानकारी दिएको छ ।














