काठमाडौं, २३ मंसिर । नेकपा (एमाले)को ११औँ महाधिवेशनका लागि प्रतिनिधि अद्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
संगठन विभागका प्रमुख काशीनाथ अधिकारीका अनुसार २,१५४ जना निर्वाचित १०८ जना मनोनित गरी प्रतिनिधिको कुल संख्या २,२६२ हुनेछ ।
घरफर्क अभियानबाट आएका ३ जनाले प्रतिनिधि माग गरेको विषय पार्टी सचिवालयमा छ । धनकुटा र ओखलढुंगामा देखिएको विवाद समाधान भइसकेको र अन्य ३ जिल्लामा परेको उजुरीको टुंगो लाग्दैछ ।
मापदण्ड नपुगेका प्रतिनिधिको कार्ड नबनाइने विभागले जनाएको छ । महाधिवेशनका लागि सल्लाहकार परिषदबाट ३५१ जना सहभागी हुने भएपछि प्रतिनिधि र सहभागी गरी कुल २,६१३ जना उपस्थित रहनेछन् ।
हालसम्म ७० प्रतिशत परिचयपत्र (कार्ड) छपाइ भइसकेको र मंसिर २५ भित्र सबै कार्ड तयार हुने केन्द्रीय कार्यालयले जनाएको छ ।














