जनकपुर, २३ मंसिर । जनकपुर–२४ स्थित गोगल प्रसाद नमुना माध्यमिक विद्यालयमा निर्माण सम्पन्न गरिएको चारकोठे आधुनिक भवन सोमबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।
भवनको उद्घाटन जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह र उपमेयर किशोरी साहले संयुक्त रूपमा गरेका हुन् । ६१ लाख रुपैयाँ लागतमा तयार गरिएको भवन विभिन्न शैक्षिक प्रायोगिक कक्षाकोठा तथा प्रशासनिक आवश्यकताहरू पूर्ति गर्न लक्षित गरिएको विद्यालयले बताएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर साहले जनकपुरधामको शिक्षा क्षेत्र छिमेकी नगरभन्दा अघि बढिरहेको उल्लेख गर्दै गोगल विद्यालयले पछिल्लो केही वर्षमा देखाएको प्रगति ‘अद्भुत’ रहेको बताए ।
उनले भने, “गोगलले जनकपुरको प्रतिष्ठा बढाएको छ । यही जस्तो उदाहरणबाट अन्य विद्यालयले पनि सिकेर प्रतिस्पर्धी रूपमा अघि बढ्न आवश्यक छ । साथै मेयर साहले नगरभरि भइरहेको विद्युतीकरण अभियानलाई द्रुतगतिमा अघि बढाइरहेको जानकारी दिँदै खेती योग्य जमिनका क्षेत्रहरूमा सेन्सर लाइट जडानको प्रक्रिया सुरु गरिएको बताए ।
उनका अनुसार, हालसम्म ८ किलोमिटर क्षेत्रमा लाइट जडान भइसकेको छ, जसका १५ वटा मिटरको खर्च उपमहानगरपालिकाले बेहोरेको छ ।
‘संख्याभन्दा गुणस्तरमा जोड दिनुपर्ने समय’ — शिक्षा प्रमुख पाण्डे
कार्यक्रममा शिक्षा प्रमुख अन्जु पाण्डेले विद्यालय २०७४ सालदेखि नै नमूना विद्यालयमा समावेश भएको स्मरण गराउँदै उपमहानगरले यसलाई उत्कृष्ट शिक्षालयका रूपमा उभ्याउन लगातार प्रयास गरिरहेको बताइन् ।
उनले विद्यार्थी संख्या पर्याप्त भएकाले अब शैक्षिक गुणस्तर उकास्न ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिँदै विषयगत छुट्टाछुट्टै ल्याब, आवास सुविधा, व्यवस्थित क्यान्टिन र हरियाली वातावरणको आवश्यकतासमेत औंल्याइन् ।
“भौतिक पूर्वाधार राम्रो हुनु आवश्यक छ, तर त्यससँगै शिक्षण–शिक्षणको स्तरमा उस्तै सुधार हुनु जरूरी छ,” शिक्षा प्रमुख पाण्डेले भनिन् ।
प्रधानाध्यापक दासद्वारा २० लाख सहायता माग, ल्याब स्थापना प्राथमिकतामा
विद्यालयका प्रधानाध्यापक महावीर दासले विद्यालयले पाएको सफलता कर्मचारी, शिक्षक तथा विद्यार्थीहरूको सामूहिक प्रयास र उपमहानगरपालिकाको निरन्तर सहयोगकै परिणाम भएको बताए ।
उनले विद्यालयमा आधुनिक ल्याबहरूको अत्यावश्यकता रहेको बताउँदै उपमहानगरबाट २० लाख रुपैयाँ सहयोगको आग्रह गरे । ५५ लाख सशर्त अनुदान र ३ लाख पालिकाको योगदानबाट तयार भएको यो भवनले विद्यार्थीको सिकाइ वातावरण अझ सुदृढ बनाउने विश्वास प्रधानाध्यापक दासले व्यक्त गरे ।
कार्यक्रममा उपमेयर किशोरी साह लगायत विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा स्थानीय व्यक्तिहरूको पनि उपस्थिति थियो ।














